कुनामा एउटी सत्र बर्ष जतीकी युवती

प्लस टु को परिक्षा सकियो, खाली समयमा मावल जाने अठोट गरेँ। हुनत खासै धेरै म मावल जान्न बुझ्ने भैकन यो चौथो पल्ट थियो। खास गरी फुपु दिदिको छोरी को बिबाह थियो। अनि फुपु घर र मावल नजिकै पर्थ्यो। चाहनालाई किन पिञ्जरामा बन्धी बनाउने भन्ने सोचेर घरमा प्रस्ताव राखे। सोहि अनुसार मम्मी र ३ दिनको लागि मावल गयौँ।
रात छिप्पी रहेथ्यो, रमाईला कुराहरू हुदै गए रातको १० बजे तीर म दाउराको आगो ताप्न छाडेर जुनको शितलता ताप्न बाहिर निस्किए। जुनले पनि साथ दिईरहेथ्यो टाढा-टाढा सम्म नियाल्नको लागी। केही पर कोही मानव आकृति हल्लीयो यी आखाहरुमा। एकटकले हेरिरहेँ । उस्लाई उठेको र बसेको पाँए। हुन त म साईन्सको बिध्यार्थी भएर पनि होला भुतप्रेतमा खासै विश्वास राख्दिन थें। मलाई त्यो मानव आकृति सामु जान मन लग्यो। उ सगँ नजिकिने बहानामा मम्मी लाई ढाट्न पुगे फुपुकोमा जान्छु भनेर।

पुरानो छानो भरी प्वालै प्वाल परेको गोठ रहिछ । लाग्यो कि धेरै पहिला त्यहाँ बस्तुभाउको बासस्थान थ्यो होला। त्यो रित्तो रै'छ, यताउता हेरेँ कोही पाईन....
केही पर कुनामा एउटी सत्र बर्ष जतीकी युवती निलो कुर्ता लगाएर टाउको भुईतीर झुकाएर चुपचाप बसेकी थीई। हो,त्यसको प्रतिविम्ब हुनुपर्छ केही समय अगाडी जुनको प्रकाशले मेरो नजरमा ठोक्काएको। उस्लाई तलबाट माथी सम्म एकपल्ट नियाले, खुट्टा भन्दा दुई ईञ्च लामो चप्पल, निलो सादा कुर्ता त्यो पनि फाटेको अनि ठाउँ ठाउँमा कालो धागोले सिलाएको ... सेतो अनुहारमा आँशुका कत्लाले बनेका काला डोराहरु त्यसमा पनि देब्रे आँखा माथी लागेको चोटको टाटो। लाग्थ्यो कि कुनै चित्रकारले बनाएको आकृति हो यो तर सजिव नै थियो त्यो आकृति।
नवोली फिर्नु भन्दा केही बोल्नु नै उचित लाग्यो र सोधेँ, "तिम्रो घर कहाँ हो? यसरी एक्लै यो गोठमा बस्न डर लाग्दैन?" तर उ मौन रुपमा नहल्लीकन बसीरही। न उस्ले म तीर हेर्ने कुनै चेष्टा नै गरी। उस्को आवाज सुन्ने आशामा अर्को प्रश्न गरेँ, "तिम्रो नाम चैं के हो नी?" अहँ! उ केही बोलीन। अब मेरो उत्तर पाउने आश पनि मरेर गयो। सोचेकी म नौलो छु यो गाउँ को लागी धेरै प्रश्नहरु गर्नु पनि उचित नहोला। काहीँ कतै हिडेकी होला विचराले बास नपाएर यही बसिछे भन्ने लाग्यो मन्मा।

भोलीपल्ट विहान दाँत माझ्ने निहुँमा केही पर गएर त्यो गोठमा आँखा लगाँए। विहान पनि फेरी उस्लाई जहाँ को त्यहीँ उस्तै रुपमा, उस्तै पोजिसनमा पाएँ। अब मेरो मन्मा अनौठो कुराहरु खेल्न लागे। किन त्यो एक्लीएकी होला यो समाजबाट? कस्को छोरी होला! बा! टुहुरी पो होकी? त्यसलाई पनि भोक लाग्दो हो, अनि के खाएर बाच्दी होला? एउटा केटीलाई पाल्न नसक्ने कस्तो मानवता नभएका पशुहरु बस्दा रहिछन् यो गाउँमा त। हो, यस्ता अनगिन्ती प्रश्नहरु मनबाट बिस्तारै निस्किरहेँ। मेरो सानो दिमागले मनका यी प्रश्नहरूको उत्तर खोज्न सकेन। आखिर अन्त्यमा विवश भएँ मामालाई उस्को बारेमा सोध्न।

रातको खाना खाएको मौका छोपी मैले मुख खोलेँ, "मामा त्यो पर गोठमा निलो कुर्ता लाएर बसेकी केटी को हो?"
"भान्जा तिमी कति चलाख रहिछौ कसरी यती चाडै तिम्रा आँखाहरु त्यहाँ पुगे?" मामाले कुरा बङ्गाउन खोज्नु भो। 'तपाईले सोचे भन्दानि चलाख छु म त आज हो र हिजो राती नै आउने बितिकै देखेर भेटी पनि सके अब बोल्न मात्र बाकी छ', मनमनै भने मैले।

"हैन मामा त्यो केटीलाई छुटृै एक्लै बसेको पाएर मात्र बुझ्न खोजेको हुँ अन्यथा केही होईन।" मैले यसो भन्दै कुरा बुझ्न खोजे।
"को केटी हो दाई?" मम्मीले पनि कुुरा जान्न चासो देखाउनु भो।
"केही महिना अघि यही माथिल्लो सुब्बाको घरमा विवाह थियो। अनि त्यहाँ एउटा चक्रबहादुर लिङदेन भन्ने ईन्डियाको लाहुरे पनि पाहुना लाग्न आएको रहिछ। विवाहको राती धाननाचमा मोराले यो सानीलाई मन पराएछ। रातभरी गफ गरेछन् खै! के के आश देखायो। भोलीपल्ट बाट यिनिहरु भेट्थे रे। स्कुलबाट पनि भागीभागी उस्लाई भेट्न जादी रहिछे।
एक हप्तापछि लाहुरे ईन्डिया लाग्यो। लाहुरेको रङ्गीन दुनियाँमा रम्दारम्दै आफ्नो अस्तित्व नै गुमाईसकिछे। आफ्नो अस्मितालाई लाहुरेको छलकपटी मनमा बेचिछे। दुई जिउँकी भएको थाहा सबै गाउले ले पाँए अनि उस्को परिवार लगाएत सबै गाँउबासी मिलेर त्यही लाहुरे सगँ जा भन्दै घरबाट निकाली दिए। यही पल्लो घरकी भुमिनन्दे की स्वास्नी हाम्रा पनि छोरीचेलीहरु छन, बिक्नु पर्छ, भोली फेरी यस्कै सिको गरे भने! भन्दै चिच्याउदै थिई आज तिन दिन भै सक्यो खै के खाएर बाँचेकी छे? सायद कुन दिन आत्महत्या गरेर मर्छे होला।" सरासर स्वस्थानी पढें झै सासै नरोकी भन्नु भो मामाले। खै! आजकालका ठिटाठिटीहरु देखेर छक्क पर्छु भान्जा नानी म त। भन्दै लामो सास फेरेर लोटा तान्दै हात चुठ्न उठ्नु भो।
मेरो मन साह्रै खिन्न भयो। उस्को भित्रको भोकले मलाई पोल्यो। अनि उस्का ति अन्जान आँशुले मलाई पो दर्द र पीडा दियो। अब म उस्लाई दया मात्र होईन मायाँ पनि गर्न थालिसकेँ। म भित्र उस्को मायाँ बिस्तारै पलाई रहेथ्यो।

भान्जा आएको खुसियालीमा होला सेलरोटी पकाएको थियो। मलाई भने पटक्कै खान मन थिएन तै पनि मम्मी र मामाको मनखुसको लागी एक थाल रोटी लिएर बसें। आदी टुक्रा भन्दा बढी खानै सकिनँ सबै उस्का ब्याथाहरुले नै अघाई सक्या थिएँ। त्यो थाल बोकेर मम्मी मलाई निन्द्रा लाग्यो रुममै खाँदै सुत्छु है भनेर सुत्ने कोठातीर लागे। त्यो थालभरीका रोटी टेबुलमा राखेर ओछ्यानमा लडेँ। मनमा तिनै कुराहरु खेलिरह्यो। उस्को आकृति आँखाअघि झलझली आईरह्यो। लाग्यो कि कस्तो पापी होला यस्तो बिचरीलाई छोडेर जाने?
मान्छेहरू आफ्नो स्वार्थ पुरा गर्न अर्काको भविष्यलाई नै मारिदिन्छ।

अहँ! पटक्कै निन्द्रै लागेन। जुरुक्क उठेर ती थालका रोटीहरुको हातमा चुरा लाएर लागेँ गोठतीर....
".... मैले अब तिम्रो बारेमा सबै बुझे। अब अनर्थ नसोची बोल म सगँ। तिम्रो केही गलत होईन यस्मा, गलत त त्यसको छ जस्ले भबिष्यको सपना देखाई बेहोशी बनाई खेलायो तिम्लाई। जस्को सजाएँ आज तिमी भोग्दै छौं। किन? तिमी कैदी बनेर न्यायधिस सँग मुध्दा जित्न सक्दैनौ। साह्रै भोक लाग्या होला यी रोटीहरु खाउ भनी सबै रोटीहरु दिए। तर उस्का हातहरु ती रोटी समाउन अगाडी बढेनन्। सोचेकी भोकलाई पनि बाध्यता, विवशता र परिस्थितिले बाधिदिदो रहिछ। उस्ले ती रोटीहरु नसमाए पछि बिकल्प हेरेँ। त्यहाँ भित्तामा किला रहिछ सायद त्यो दुधको ढुङ्ग्रो झुण्डाउनको लागी ठोक्या थियो होला। त्यही ती रोटीहरु झुण्डाईदिएँ र भनेँ, "मलाई तिमी प्रती कुनै आशक्ती र चाहना छैन, आखिरि मानव न परेँ, तिमि भोकै रहेको देख्न सकिन त्यही भएर आएको हुँ। के भोकलाई थुन्दैमा तिमी यो बन्धनबाट उन्मुक्ति पाउँछौ त? फेरि रोएर पनि त समस्याको सामधान हुन्न, अनि फेरी केही नखाएर जिध्दिपन गर्दैमा के तिम्लाई छोरी बनाएर घर फर्काउलान त यो समाजले? भन्दै सरासर आफ्नो बाटो लागे।
फुपु दिदिको छोरीको विवाह भएकाले विहानै उठेँ। सबैको मन विवाहको घञ्चमञ्चले प्रफुल्लीत देखिन्थे। कसैको मुस्कानको प्रतिउत्तरमा खिसिक्क हासीटोपल्थेँ कृतिम हाँसो। सहरमा पो एउटा घरबाट अर्को घरमा कुरा पुग्न महिनौँ लाग्छ तर यो त गाउँ थियो। मैले हिजो राती रोटी लिएर गएको त्यहीँ कि एउटी मास्टर्नी काकीले देखिछिन् र त्यो कुराले आज तिनगाउँ हानिसकेछ। विवाहमा धेरै जसो मान्छेहरू बेहुला-बेहुली हेर्न भन्दानि म तीर पो आँखा लाइराथे। स्कुलदेखि क्याम्पस सम्मका सबै केटीहरु विवाहमण्डप भन्दा पनि म बसेको बारदली तीर हेरीरहेका थिएँ। आफैलाई अफ्ठ्यारो महशुस भयो त्यसैले तल आँगनमा ओर्लिए। प्रायःजसो केटीहरु हातमा किताब लिएर स्कुल/क्याम्पसको आफ्नै ड्रेसमा आएका थिए। एकछिनमा क्याम्पसे ड्रेसका एकहुल केटीहरु म बसेको कुर्सीको ठिक पछिबाट उभिएर विवाह हेर्न लागे।

"हामी त राम्री छैनौ कि के हो?" त्यही हुल बिचबाट मैले सुन्ने गरी एउटीले मस्कदै बोली। अनुहारमा एकमुट्ठी पाउडर दलेर ऐना पछिबाट हेर्दै आफुलाई विश्वसुन्दरी सगँ तुलना गर्ने पनि कम रहिनछन् यहाँ भन्ने मनमनै लाग्यो।
"एउटा लाहुरे गयो फेरी अब अर्को लाहुरे आयो, मोरी सानुले भाग्य त राम्रै लिएर आएकी रहिछे नि।" अर्कीले अलि पछि सर्दै केही ठुलो आवाजमा बोली। ममा यो वाक्य पटक्कै सह्य भएन। रिसका राता डोराहरु अनुहार भरी दौडिए। यी निर्दोष औलाहरु उस्का जगल्टा समाउन तन्किए।

तर सोचे म त यो गाउँको लागी पाहुना हुँ, म त आखिरमा अपरिचित न थिएँ त्यो गाउँ समाजको लागी तर त्यहाँ मामाहरुको ईज्जतको लागी पनि हात उठाउनु उचित ठानिन्। त्यसैले लामो सास फेरेर हातलाई खुमच्याए। बेहुली अन्माउने कार्य पनि भयो विवाह सकियो र सबै आ-आफ्नो गन्तव्यस्थल तीर दौडिए। मलाई भने दिउँसोको कुराले पोलिरह्यो। दुई कप जति चिसो दहि पीएँ तरपनि मानसिक चोटले दनकिएको आगो न हो कहाँ भौतिक चिसोको शितलताले निभ्छ र। लाग्यो कि पढेका शिक्षित मुर्खहरु बस्दा रैछन यहाँ। भोलीका दिनमा उनिहरु जो कोहीमा त्यो घटना भयो भने के गर्छन? अनि यहाँ त एउटा नारी भएर अर्को नारीको समस्या सुल्झाउनुको साटो उल्टै सहरियाँ धुलो बनाएर उडाउन पो तत्पर देखिन्छन्। किन नारी नारीकै शत्रु बन्छे। हुनतः तिनिहरुको पनि खासै ठुलो गल्ती होईन, उनिहरु जन्मँदैबाट यो समाजले कालो चस्मा लगाई दियो। यो समाजको त्यो कालो चस्माबाट हेर्दा कहाँ सेतो र उज्यालो देखुन त। त्यसैले सबै दुनियाँहरु अध्याँरै(कालै) पाँउछन उनिहरु। यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै ओच्छ्यानमा पल्टिरहेँ।

बलेसी बजेको आवाजले एकाग्रता भङ्ग भयो र बाहिर निस्किए। दह्रो मुसलधारे पानी दर्किरहेको रहेछ। त्यो दर्के पानीले आगँनमा जमेको पानीमा हिर्काउँदा बनेका प्रत्येक फोकाहरुमा उस्को रुन्चे आकृति देखे। छिट्टो छिट्टो दगुरेर खाटमुनि बाट झोला झिकें। जाडो होलाकी भन्ने डरले एउटा ज्याकेट हाल्या थिएँ। ज्याकेट लगाए अनि भित्री गोजीमा एकहजारको नोट(डेडिले दिएको बाटाखर्च बाट बचेको थियो।) राखेर दगुर्दै गएँ गोठतीर त्यो मुसलधारे पानीमा....

तर आज उ त्यो कुनामा बसेको थिईन, केही पर खम्बा समाएर उभिएको पाँए। सायद ओत लागेको होला त्यो उदाङ्गो छानोको फेदमा खम्बालाई साहरा लिएर। पुरै कपडा लुथ्रुक्क भिजेर शरिरमा टाँसिएको, जाडोले ओठपनि सेतो बनि काँपीरहेको थियो। अत्यन्तै माया जागेर आयो केही नबोलीकन उस्को पछाडीबाट ज्याकेट फुकाएर ओढाईरहेथे अनि उस्को भिजेको कपालबाट चुहिरहेका पानीका थोपाहरु मेरो जुत्तामा पर्दा 'टक' 'टक' आवाज आईरहेथ्यो सुनसान त्यो रातमा।

"म भोली घर जाँदैछु।" एक्कासी आतिएर बोले म। "
"हो! तिम्ले मलाई पनि त्यहि लाहुरेको रुपमा देख्यौं। तिम्रो त्यो नजर दोषी होईन। म मात्र होईन अब आउने हरेक पुरुषलाई तिम्ले त्यहीँ नजरमा देख्ने छौँ। तर सबै फुलहरु ओईलीएर जान्छन भन्ने हुन्न। तिमि आफुमा सामर्थ जुटाउ, हिम्मत गर यो समाजको लागी तिमि मरेता पनि नेपालमा यस्ता कयौं समाजहरु छन अरु जुन कुनै समाजमा गएर हासी खुसी जिउन सक्छौ। जिन्दगीलाई यहि गोठमा अनि आँशु र भोकमा मात्र सिमित नपार। म एउटा मानवताको साथै तिम्लाई मायाँ गर्ने नाताले भन्नु पर्दा अब तिम्रो जीन्दगीमा दुई ओटा मात्र बिकल्प छ।

पहिलो बिकल्प: यो गोठ छाडेर आज रातीनै शहर जाउ। बाटाखर्चको लागी मैले त्यो ज्याकेटको भित्रि गोजीमा एक हजार रुपियाँ राखिदिएको छु। अनि त्यहाँ काहीँ काम खोजेरे एउटा छुट्टै दुनियाँ बनाउ। फेरी सुखी भविष्यको ठुलाठुला आशाहरु बोकेर नहिड, जस्ले पुरा हुन नसकेको खण्डमा दुखि तुल्याउछ। कसैलाई चाडै विश्वास गरेर जिवन सुम्पिनहाल्नु, सभ्य र असर नारी बनेर देखाउनु।

अनि दोस्रो बिकल्प: यो भोकै, तिर्खै अनि दुनियाँको भनाई सहेर पल पल मर्नु भन्दा बरु आत्महत्या गरेर एकै चोटी मरिदेउ। तिम्रा ति अमुल्य आँशुहरु दिनानुदिन कति बर्ष सम्म झार्छौ अनि प्रत्येक पल भोक, पीडा र निन्द्राको छटपटीमा त्यो शरिरलाई कति पल्ट मार्छौ।" दोस्रो बिकल्प भन्दा चै मेरो अनुहार केहि रिसाएर हप्काए झैँ देखिन्थ्यो।

"यो पल्ट त म आएँ फेरि अरु पल्ट म जस्तै सबै मान्छेहरू नभेटिन पनि सक्छन। त्यसैले अब रातभर सोच अनि एउटा बिकल्पको निर्णय गर। सायद भोली बिहान हामी पनि घर लाग्छौं होला।" भन्दै म फरक्क फर्किएर रिसाए झैँ गरि बाटो लागें। मेरो मखलर उस्ले तानी आवाजविहिन हाँसोसँगै फर्किएर हेरेँ। होईन रहिछ वास्तवमा त मखलरको धागो पो ज्याकेटको जीपरमा अल्झिएको रहिछ। उस्ले त्यो धागो जोडले चुटाली र फनक्क अर्का पट्टी फर्किएर एकै छिनमा सुँक सुँक रुन लागी। मलाई त्यो क्षणमा उस्लाई काखमा लिएर फकाउन मन लागिरहेथ्यो। तर त्यो आदम्य साहस ममा कहाँ बाट आउथ्यो र। मैले त्यो सामर्थ जुटाउन सकिन अनि आज यो मनलाई मारेर फिर्न बिवश भएँ। तरपनि खै! किन मनै मानेन मामाघर छेउमा आईपुगे पछि फर्किएर हेरेँ। ऊ त्यो गोठको ओल्लो छेउमा आएर एकटकले मलाई नै हेरिरहेकी रहिछे। मैले हेरेपछि उस्ले केहि माथि तन्किएर बाईबाईका हातहरु हल्लाई तर त्यति बाईबाईका हातहरु फर्काउन सक्ने साहस पनि थीएन अब ममा। निरन्तर उस्का हातहरुले बाईबाई गरिरहेथें। मैले हत्तपत्त ढोका थुनेर सुतें।

बिहानै सबेरै मामाले बिदाइका टिकाहरु लगाईदिनु भो। अनि बाटाखर्ची पाचँसय पर्दैन भन्दाभन्दै नि हातमा राखिदिनु भयो । मैले सोचेकी यो पाचँसय पनि त्यो हजार सँगै सानुलाई दिन पाएको भएँ। मैले त्यो नोटमा पनि उस्को उदासिन अनुहारको छायाँ पाईरहें। झोलाहरुमा जवरजस्ती कोशेली खाँदी दिदै थिए।

हातमा हसियाँ हल्लाउदै निरौली काकी आईपुगिन, "बेँशी तीर घाँस काट्न निस्केको थिएँ हैन! त्यो सानु त गोठमा छैन त?" स्वाँ स्वाँ गर्दै आतिएर भनिन्। सबै चकित र भयभित भए तर मलाई विश्वास थियो कि सानु अवस्य राती नै शहर पसी भन्ने। त्यसैले म त्यति आतंकित बनिन। सबै जना गोठतीर दगुरे म भने पछिपछि बिस्तारै हिड्दै गए। म त्यहाँ पुग्दा सानुको बाबाको हातमा चट्ठी देखें। 'म अलिक राम्रो आखा देख्दिनँ लौ पाहुना बाबु यो चिट्ठी पढ त' भनेर मलाई दिए। म पनि चकित भएँ।
चिट्ठी खोलेर हेरेँ सानुले लेखेको रहिछ।

मेरो मनको ढुकढुकी सम्पुर्ण गाँउबासीहरु,
म यहाँहरुले म प्रति गरेको ब्याबहारमा कुनै दु:खी छुईन बस् फेरी आँउदा दिनहरूमा यहाँहरुको छोरी चेलीलाई यस्तो व्यवहार चै नगर्दिनुस् मात्र भन्न चाहन्छु। सबै गाउलेहरुले त मलाई थुकें, बेईजती गरें तर जब घरकै बुवा आमाबाट घोक्राएर निकालियो मलाई। बेसाहारा भएँ म। त्यो ढोका मा ठोकिएर देब्रे आँखा माथी लागेको चोटको पीडा भन्दा त सयौ गुणा बढी पीडा यहाँहरुको गालीबाट भयो। मेरो समस्यामाथी हातेमालो गर्दै दन्किरहेको आगोको ज्वालामा पानी खन्याउन सहयोग गर्नुपर्नेमा उल्टै यहाँहरुले त मट्टितेल लगाएर जलिरहेको मनलाई खरानी बनाएरै छोडनु भयो। तर केही छैन मैले राम्रो साथी भेट्टाँए, जस्ले हरेक साझँ मलाई साथ दिईरह्यो, ज्युन र मर्नबारे राम्ररी सिकायो। (म डराएँ मेरो हातहरु कामे, सबैले मलाई संखाको नजरले हेरेँ) हो! उ महान् छ, कति पनि स्वार्थ छैन उसमा। यदि स्वार्थ हुँदो हो त त्यो कालरात्रिमा पनि उज्यालो दिएर किन झुल्किन्थ्यो, त्यो जुन। हो! त्यो जुननै मेरो आफ्नो साथी बन्यो। यस्ले नै ज्युन र मर्न सिकायो अनि अन्धकार रात्रिमा शितलता दिईरह्यो न म बाट कुनै शितलता पाउने आशा नै राख्यो। आहाँ! कति महान् छ त्यो जुन। (म हासें ममा खुसीका तरगंहरु दौडिए अनि कल्पना गरेकी पक्कै पनि त्यो जुन भनेर मलाई नै सम्बोधन गर्या हुनुपर्छ।) अब मैले जीन्दगीभर खुसी रहने र यहाँहरुलाई पनि खुसी बनाउने साह्रै छोटो बाटो रोजेको छु। यदि बिहानसम्ममा शरिरका केहि अवशेषहरु बाँकी रहेछन् भने त्यो तल तमोर नदीको किनारामा खोज्नु नभा यहि चिट्ठीलाई जलाएर दाहसंस्कार गर्नु। मेरो भौतिक शरिर यहाँहरुको हातबाट जल्न नपाए पनि मेरा यी हस्तलिपीहरु यहाँहरुकै हातबाट जलुन।

यहाँ हरुकी सबैभन्दा भाग्यमानी छोरी:सानु



चिट्ठी पढेर सक्दा नसक्दा हातबाट खस्यो। म आफुले आफैलाई दोषी ठहर्‍याए, यो सबै घटना मेरै कारणले भयो तर यो कटुसत्य लाई म भन्न सक्दिनँ थें। मैले त मृत्युलाई बिकल्प बनाएर उस्को हत्या गरें। आफुले आफैलाई अपराधीको दर्जामा राखें। मैले त मृत्यु जस्तो डरलाग्दो बिकल्प दिएर उस्लाई सहर परोस् अनि खुसीसाथ जिबन बिताओस् भन्ने सोचेर बाटाखर्च पनि दिएको थिए। तर मुर्ख रहिछे मेरो उचित ज्ञानलाई सदुपयोग को साटो उल्टै दुरुपयोग पो गरी। टोलाएर यस्तै कुराहरु सोचीरहें।

घरको बाटो लाग्यौ मम्मी र म। बाटोभरी हामी बीचमा उस्कै कुराहरु चल्यो। "घरमा भन्दा त यो कुरा पत्याउँदैनन् होला है?", मम्मीले भन्नु भयो। "पत्याए नपत्याए जे गरेनी भन्न चै भनुलाँ न", मैले भनें। "बरु त्यो सानुको तैले एउटा फोटो खिचेको भा हुन्थ्यो नि।" मम्मीले केही नम्र भएर भन्नु भो। उहाँको अनुहारमा पनि उसप्रतिको मायाँ झल्किरहेथ्यो। तर के गर्नु अब त्यो मायाँ दिएर आखिरी उ नै यो संसारमा नरहे पछि।

मान्छेहरू बाँचुञ्जेल राम्रो मायाँ दिन जान्दैनन् अनि मृत्युपश्चात उस्को गुनगान गाउछन।

"त्यसरी अर्काको अनुमति बिना फोटो खिच्नु हुन्न नी।" मैले मम्मी लाई जवाफ दिए। हुनत त्यतिखेर ममा होश थिएन। फोटो खिचौँ भन्ने मानस्पटलमा सोचनै आएन। यदि फोटो खिच्या भा त यो लेख सँगै आज उस्को फोटो पनि सबैले देख्ने गरी यही राखिदिन्थें होला। मनमनै सोचेकी एउटा कागजी पन्नमा उस्को बिम्ब नभएर के भो र! त्यो हिमाल, त्यो बनपाखा अनि त्यो गोठ वरपर सबैमा उ र मेरो बिम्बहरु झल्किरहेछन्। त्यो अधेरी आकाशले हजारौँ फोटोहरु खिचेको छ। जुन भोलीका उज्यालो दिनमा उस्को बिम्ब म त्यही आकाशमा पाउने छु। उस्को याद र झझल्को म त्यो जुनबाट लिनेछु।


घर पनि आईपुग्यो। कति उस्को भबिष्यलाई मात्र सोच्नु मेरो पनि आफ्नो बेग्लै भबिष्य थियो। त्यसैले एम.बि.बि.एस.को तयारी गर्न लागे पुतलीसडक को अर्बिटमा। सानैबाट पढाईमा टपनै थिएँ अनि गाँउसमाज र बिध्यालयले पनि ममा राम्रै आशा राखेका थिएँ। म पनि डक्टर बनेर समाजसेवा गर्न चाहन्थे। कसैलाई मृत्युको मुखबाट बचाउन दुई जनाले मात्र सक्छ कि भगवान कित डक्टर। त्यसैले ममा त्यो दोस्रो भगवान् यानकी डक्टर बन्ने एकदमै चाहना थियो। कोही एउटा सिटामोलको अभावमा मरेको समाचार सुन्दा ममा गहिरो प्रभाव पर्थ्यो। निकै गम्भीर चोट लाग्थ्यो मुटुमा। हुनत डक्टर बन्न ट्यालेन्ट भएर मात्र हुन्न रहिछ भाग्य पनि उतिनै चाहिँदो रहिछ। मलाई त्यो टिचिङ हस्पिटलले योग्य पाएन र ४२ औं स्थान भन्दा तल धकेलेछ। सधै भरी अरुलाई पाठ सिकाउने मान्छे आज आफै थाकें जीन्दगीबाट।

सधैँ अरुलाई अगाडी बढ फलको आशा नगर असफल हुँदैमा हरेश नखाउ झन जोश र जाँगर सहित पाईलाहरु निरन्तर अगाडी बढाउ एकदिन अवस्य सफल हुन्छौ भन्ने म आज एउटा असफलता मै धेरै गलें जीन्दगीबाट। बल्ल आज आएर थाह पाँए असफलताको पीडा सहन कति गाह्रो पर्दो रहिछ भन्ने। सायद सानैबाट असफल नभएर होला त्यो पहिलो असफलता सम्हाल्न बहुत मुश्किल भयो मलाई। अरुलाई ज्ञान दिन कति सजिलो र आफुलाई पर्दा कति अफ्ठ्यारो बिच तुलना गरें।


दशैँको घञ्चमञ्च बढीरहेको थियो। मम्मी लाई सारी किन्न काठमान्डौं मल भीत्रतीर लागें। 'बि' बल्क को ग्राउन्ड फ्लोरमा एउटा रेष्टुरेन्ट रै'छ त्यसको छेउमा भएको 'अर्घाखाँची कस्मेटिक एण्ड लेडिज फेसनवेयर' मा पसे सारी किन्न। एउटा निलो कलरको सारी मन पर्यो र पसल्नी लाई दाम सोध्दै प्याक गर्न अनुरोध गरें। पसल्नीले त सारी समाएर एकोहोरो मलाई हेरीरहीं। मैले अफ्ठ्यारो लागेर भनें, "हजुर दाम कति होला? मलाई अलिक हतार छ छिटो प्याक गरदिनुस्।"

"मलाई चिन्नुभएन म त्यही रानीगाउँकी सानु हुँ।" हर्षले प्रफुल्लीत भएर भनी उस्ले। पहिला त विश्वास नै भएन र सुटुक्क आफुले आफुलाई चिमोटें तर पछि उस्को देब्रे आखा माथीको खत देखेसि प्रष्ट भयो कि उ त्यही सानु थिई भनेर।

"तर तिमी त.... फेरि यहाँ कसरी?"

"हो! त्यो रात मेरोलागी तपाई एउटा असल मानव भन्दानि माथी भएर आउनु भएको थियो। मैले तपाईले दिएका बिकल्पबाट एउटा भन्दा पनि दुईवटै बिकल्प रोज्नु उचित लाग्यो। मैले त्यो मरें भन्ने नाटक गरेर चिट्ठी नलेखेको भए सायद अझै नि ति मानवताको खोल ओढेका पशुहरु लखेट्दै यहाँ पनि आईपुग्थे होला। सोचेकी यी पशुहरुलाई बाँधेर मात्र मैले नौलो संसार बनाउनु पर्छ नत्र भोली त्यो बनेको सानो संसार नरसंहार गर्न यीनै पशुहरु आईपुग्छन जस्तो लागेर त्यो झुटो चिट्ठीले तिनीहरूलाई बाँधीदिए अनि म मेरो नौलो संसारमा प्रवेश गरे।

सुरुमा यही पल्लो ग्राउण्ड फ्लोरको रेष्टुरेन्टबाट पसलमा चिया पुर्‍याईदिने काम गरे। यहि पसलमा चिया ल्याउदा ल्याउदै उहाँले मलाई मन पराउनु भो। विवाह गर्ने कुरा गर्नु भो मैले नि स्विकारे अनि मन्दिरमा गएर विवाह गर्यौ।

उहाँको मुलघर चै अर्घाखाँचीमा रहिछ त्यहाँदेखि उहाँका आफन्तहरु पनि आएका थिए विवाहमा। अहिले मेरो जिवन हाँसो खुसीमा बितिरहेछ अनि सबै हाँसो र खुसीहरु सबै तपाईकै उपज हो।" उस्ले हास्दै भनि।

"फेरि यहाँ मलाई कसरी चिन्यौ त?", हास्दै सोधेँ मैले।

"त्यो पानी परेर जाडोले काँपेको बेला तपाईले ज्याकेट लगाईदिदाँ झुक्किएर पुलुक्क तपाईको अनुहार हेरेथें। त्यहीँ बेलादेखि तपाईको अनुहारको आकृति यो मुटुमा गढेर बस्या थियो। मैले फुर्सद भएको बेला तपाईको याद मेटाउन तपाईको आकृतिको प्रशस्तै ड्रईङहरु बनाएको छु।" ऊ एकदमै हर्ष विभोर भएर मनका सबै कुराहरु एकैपल्ट खोल्दिने चेष्ठा गर्दै थिई।

"यो सारी प्याक गरीदेऊ, फेरी फेरी भेटौला, आज तिम्लाई यो अवस्थामा देखेर धेरै खुसी लाग्यो। अनि त्यसको मुल्य कति पर्यो नि" भन्दै मैले प्यान्टको पछाडीको गोजी बाट पर्स झिकें।

उस्ले खितिति दातै देखिने गरि हास्दै भनि, "आफुले आफैलाई पनि कहिँ किनबेच गर्न मिल्छ र? मेरो प्रत्येक श्वासमा तपाईं पाएको छु। यो बाहिरी शरिर मेरो भएतापनि भित्रि मनमा भने तपाईकै बास छ। अनि यो मानस्पटलमा तपाईंकै शब्दहरु मात्र छन, प्रत्येक बाक्यहरुमा म तपाई बनेर बोलीरहेछु। फेरि तपाईं आफैबाट किन्न खोज्दै हुनुहुन्छ। अनि थाह छ त्यो ज्याकेट जुन त्यो चिसो रातमा तपाईले मलाई लगाई दिनु भा थियो। त्यो ज्याकेट मन्दिरमा विवाह गर्दा मेरो तर्फबाट श्रीमानलाई दिएँ। उहाँ अफिसबाट आउँदा प्रायः त्यहीँ ज्याकेट लाएर आउनु हुन्छ।र म उहाँ बाट तपाई म सँग नजिकि रहेको महशुस गर्थें।"

आज म मेरो यो सफलता बाट प्रसन्न भएँ। सानु ज्युदै रहिछे यो सारी उस्ले तपाईलाई पठाईदिएकी भन्दा मम्मी कति खुसी हुनुहोला भन्ने सोच्दै फिरें।

मैले डक्टर बनेर भौतिक शरिरको उपचार गर्न नसकेनी एउटा पीडित मानसिक बिरामीको सकुशल उपचार गर्न सफल भएछु। डक्टर वनोस् भन्ने परिवार, बिध्यालय र गाउँको ईच्छालाई पुरा गर्न नसके पनि डक्टरले उपचार गर्न नसक्ने अवस्थाको बिरामीलाई राम्ररी बचाएर नयाँ जिवन दिन सफल भएँ।

त्यो सानु त अचानक संयोगले भेट्यो। तर त्यो सानु जस्ता प्रशस्त पीडा बोकेका नारीहरु थुप्रै समाजहरुमा छन। जहाँ म जस्ता युवाहरुको कमी छ अनि रातारात झुन्डिएर र हामफालेर जीवन शाहदत गरेर बिलाई रहेछन्।

एउटा हराए र मायाँ मारी सकेको खुसी त भेट्टाए तर आफ्नै भविष्य अन्योल देखेर छटपट्टीएँ। सानै बच्चादेखि गरेको अठोट आज पुरा गरेर देखाउन सकिन। आफैलाई कमजोर महशुस गरे। त्यो बचन पुरा नगरी कसरी फिर्नु त्यो गाउँमा डर लागीरहेछ त्यसैले यो अन्योल भविष्यलाई केही हदसम्म टाढै बाट बुझ्नु पर्यो भनि बिकल्परहित भएर बाध्यताको भुँवरीमा बटारिदाँ बटारिदैँ आज बिदेशिएको छु।